काठमाडौं । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२:९१ सेकेन्डमा पूरा गरिन् ।
दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।
सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ ।
यस्तै यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२.२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।
टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन् ।
पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए ।