काठमाडौं । एथलेटिक्स खेलाडी सरस्वती चौधरीले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् ।
नेपाल ओलम्पिक कमिटिले बिहीबार एक विज्ञप्ति निकाल्दै नियमित कोटाबाट सरस्वतीले ओलम्पिक खेल्ने जनाएको छ ।
सरस्वतीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।
यस अघि म्याराथन धावक गोपीचन्द्र पार्कीले नियमित कोटाबाट टोकियो ओलम्पिक खेल्ने बताईएको थियो ।
नेपालगञ्ज म्याराथनको उपाधि सहित गोपीले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए । उनले त्यहिँ अनुसार तयारी गरिरहेका थिए ।
तर, विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरमा कोटा छुट्टाएको कारण सरस्वतीलाई पठाईएको ओलम्पिक कमिटिले जनाएको छ ।
'नेपाललाई म्याराथनमा नभई महिला विधाको १०० मि. दौडमा कोटा छुट्टाईएको जानकारी प्राप्त भएको थियो । यस सम्बन्धमा नेपाल ओलम्पिक कमिटि र नेपाल एथलेटिक्स संघले सम्बन्धित निकायमा पार्कीको सहभागिताका लागि अथक प्रयास गरिएको थियो,' ओलम्पिक कमिटिको विज्ञप्तिमा भनिएको छ, 'तर, सम्भव नभएको हुँदा नेपाललाई उपलब्ध कोटा अनुसार नेपालका उत्कृष्ट खेलाडी सरस्वती चौधरीको नाम पठाईएको व्यहोरा सबैमा जानकारी गरिन्छ ।'
विभागीय टिम त्रिभुवन आर्मी क्लबकी सरस्वतीले कतारमा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।
एपीएफबाट समेत खेलेकी सरस्वतीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् ।
नेपालबाट अब सरस्वतीसहित पौडीकी गौरिका सिंह, एलेक्स शाह तथा सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले ओलम्पिकमा प्रतिनिधित्व गर्ने छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
यस पटकको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।