एजेन्सी । बहराइनका धाविका सल्वा इद नासेरलाई दुई वर्षको प्रतिबन्ध लागेको छ ।
एन्टी डोपिङको नियम उलंघन गरेको भन्दै विश्व एथलेटिक्सले नासेरलाई प्रतिबन्ध गरेको हो । नासेरलाई गत वर्ष नै अस्थायी निलम्बन गरिएको थियो ।
महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासेर पछिल्लो १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएकी थिईन । नासेरले आफुले ३ पटक डोपिङ परिक्षण गर्न असफल भएको स्वीकार गरेकी थिइन् ।
एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
नासेरले प्रतिबन्धविरुद्ध खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल समेत गरेकी थिइन् । तर, कासले उनको अपिल खारेज गरेको छ ।
दुई वर्षको प्रतिबन्धसँगै २३ वर्षीय नासेरले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएकी छिन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
नासेरले सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा ४ सय मिटरमा स्वर्ण जितेकी थिईन ।
नाइजेरियामा जन्मिएकी उनी सन् २०१४ बाट बहराइनबाट खेल्दै आएकी छिन् ।