एजेन्सी । एथलेटिक्सको १० हजार मिटरको महिला दौडमा इथोपियन धाविका लेटीसेनबेट गिडीले विश्व कीर्तिमान बनाएकी छिन् ।
नेदरल्यान्ड्सको हेन्गेलोमा मंगलबार भएको दौडमा २९ मिनेट ०१.०३ सेकेण्डको समय निकाल्दै लेटीसेनबेटले कीर्तिमान बनाएकी हुन् ।
ओलम्पिक ट्रायल अन्तर्गतको दौडमा लेटीसेनबेटले डच धाविका सिफान हसनले दुई दिन अघि बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् ।
सिफानले आइतबार त्यहिँ ट्रयाकमा २९ मिनेट ०६.८२ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी थिइन् ।
सिफानले इथोपियाकी अल्माज अयानाको कीर्तिमान भङ्ग गरेकी थिइन् ।
'विश्व रेकर्ड बनाउने अपेक्षा थियो । म यस रेकर्डलाई तोड्न प्रयास गर्नेछु,' २३ वर्षीय धाविकाले भनिन् ।
लेटीसेनबेटको नाममा ५ हजार मिटरको दौडमा समेत कीर्तिमान रहेको छ ।
५ हजार र १० हजारमा विश्व कीर्तिमान बनाउने उनी दोस्रो खेलाडी हुन् ।
सन् २०१९ मा दोहामा भएको विश्व च्याम्पियसिपमा उनले रजत जितेकी थिइन् ।