काठमाडौं । बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
किन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै बलियो नेपाल कप क्रिकेटको तयारी पूरा भएको जनाएको छ ।
बलियो नेपालको पोषण अभियानको सहयोगमा सञ्चालन हुने प्रतियोगिता भोलिबाट दाङको लमहीमा सुरु हुनेछ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरष खेलाडीहरुलाई क्रिकेट सम्बन्धि विभिन्न कार्यक्रमहरुमा समावेश गरिनेछ ।
क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर सृजना गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटको दीर्घकालीन विकासको लागि यस्ता प्रतियोगिता देशभर फैल्याउनु पर्ने बताए ।
पूर्व कप्तान पारस खड्काले नेपालले सन् २०३९ को विश्वकप उपाधि जित्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।