काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अफ्रिकन राष्ट्रसँग त्रिदेशीय एकदिवसीय सिरिजको तयारी थालेको छ ।
नेदरल्यान्ड्स र मलेसियासँगको टी–ट्वान्टी सिरिजपछि टियु क्रिकेट मैदान क्यानले अफ्रिकन राष्ट्रयसँग त्रिदेशिय एकदिवसीय सिरिजनको तयारी थालेको क्यान स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नेपालले अफ्रिकन राष्ट्र नामिबिया र तान्जिनियासँग सिरिज खेल्ने तयारी थालेको छ । वर्षातको मौसम सुरु हुनु अघि क्यानले धेरैभन्दा धेरै अन्तराष्ट्रिय सिरिज खेल्ने योजना बनाएकाले एकदिवसीय सिरिज को तयारी गरेको क्यान स्रोतले जनाएको छ ।
‘क्रिकेटको समय पनि यही हो । यसपछि वर्षातको मौसम सुरु हुन्छ । त्यससमय हामीले क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्दैनौ,’ क्यान स्रोतले भन्यो, ‘हामी यस सिजनमा घरेलु मैदानमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्नुपर्छ भन्ने तयारीमा जुटेका छौ । हाम्रो प्रयासः जारी छ ।’
उनले अफ्रिकन राष्ट्रसँग सिरिजका लागि छलफल जारी रहेको बताए । नामिबिया र तान्जिनियालाई सिरिजका लागि प्रस्ताव गरे पनि अन्तिम टुङ्गो भने नलागेको उनले बताए ।
तान्जिनिया आईसीसी टी–ट्वान्टी वरीयताको ४४ औं स्थानमा छ । त्यस्तै टी–ट्वान्टी वरियताको १९ औं स्थानमा रहेको नामिबिया भने एकदिवसीयमा भने नेपालपछि १८ औं स्थानमा छ ।
एकदिवसीय सिरिज अघि नेपालले टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) खेल्दैछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
टी–ट्वान्टी सिरिजका लागि क्यानले औपचारिक प्रशिक्षणको सुरु नगरे पनि सिमित खेलाडीसहित मुख्य प्रशिक्षक डेभ वाटमोरले भने टियु मैदानमा प्रशिक्षण दिन थालेका छन् ।