काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि सिमित खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा बोलाउने भएको छ ।
सिरिजका लागि समय छोटो भएका कारण बन्द प्रशिक्षणमा बढिमा १८ देखि २० खेलाडी मात्र बोलाइनले क्यानका सचिव असोकनाथ प्याकुरेलले खेलपाटीलाई जानकारी दिए ।
काठमाडौंमा रहेका केही खेलाडीले मुख्य प्रशिक्षक डेभ वाटमोरसँग मंगलबारबाट नै प्रशिक्षण सुरु गरिसकेको सचिव प्याकुरेलले जानकारी दिए । तर, टिमको औपचारिक बन्द प्रशिक्षण भने केहि दिनबाट सुरु हुने उनले बताए ।
‘मुख्य प्रशिक्षक डेभ वाटमोर भर्खरै मात्र उपत्यका बाहिरबाट काठमाडौं आईपुगेका छन् । काठमाडौं आएको एक–दुई दिनमात्र भएकाले उहाँले आफ्नो योजना बनाउन सकेका छैनन्,’ क्यान सचिव प्याकुरेलले भने, ‘तर, काठमाडौंमा रहेका खेलाडीहरुलाई उहाँले आजबाटै प्रशिक्षण दिन सुरु गरिसक्नु भयो । होटेलमै राखेर बन्द प्रशिक्षण सुरु गर्न २–४ दिन अझै लाग्छ ।’
क्रिकेटरहरुले पछिल्लो समय निरन्तर प्रतियोगिता खेलीरहेकाले छनोटका लागि बन्द प्रशिक्षण राख्न आवश्यक नभएको उनले बताए । पछिल्ला घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सिमित खेलाडीलाई मात्र टोलीमा समेटिने उनले जानकारी दिए ।
नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्ने क्यानले शुक्रबार घोषणा गरेको थियो ।
सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।