काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने पक्का भएको छ ।
नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने पक्का भएको क्यान स्रोतले जनाएको छ ।
क्यान स्रोतका अनुसार नेपालले टियु क्रिकेट मैदानमा अप्रिलको मध्यतिर सिरिज खेल्नेछ ।
क्यानले दुई दिन अघि सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नेपालमा कोरोना भाईरसको महामारीको दोस्रो चरणको संक्रमण बढेसँगै सिरिजको अन्तिम निर्णय क्यानले दिन नसकेको स्रोतले जनाएको छ ।
‘नेदरल्यान्ड्स र मलेसियाले हाम्रो प्रस्तावलाई सहजै स्वीकार गरेका छन् । उनीहरु सिरिज खेल्नका लागि नेपाल आउन तयार छन्,’ क्यान स्रोतले भन्यो, ‘तर, पछिल्लो समय नेपालमा बढ्दो कोरोना प्रभावका कारण थप केही समय कुर्ने पर्ने भएको छ । सबै तयारी भएपनि कोरोना प्रभावका कारण रोक्नु परेको छ ।’
उनले थपे, ‘अहिले दुबै टोलीसँग टी-ट्वान्टीका लागि आईसीसीबाट मान्यता पाएका छौ । टी-ट्वान्टी मात्रै भएपनि खेल्छौ । हामी दुबै टोली र आईसीसीसँग एकदिवसीय सिरिज पनि खेल्ने छौ ।’
अप्रिलमा सिरिज हुने पक्का भएसँगै क्यानले खेलाडीको प्रशिक्षण पनि शुरु गर्ने तयारी गरेको छ । यसअघि ओमानमा हुने सिरिजका लागि क्यानले बन्द्र प्रशिक्षण सुरु गरेको थियो । तर, ओमान सिरिज अनिश्चितकालका लागि स्थगित भएपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित गरेको थियो ।
नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ । उनले यसअघि ओमान सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा प्रशिक्षण दिए पनि प्रतियोगिता खेलाउने अवसर भने पाएका थिएनन् ।