एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा जित निकालेको छ ।
पुनेमा मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो ।
यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४ रनको इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै जासन रोयले ४६ रन जोड्दा मोइन अलीले ३० रन बनाए । कप्तान इयान मोर्गन २२ रनमा आउट हुँदा साम विलिङ्सले १८ रन जोडे ।
इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४ विकेट लिए । सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।
भारतका शिखर धवनले ९८ रनको अर्धशतकीय इनिङ्स खेल्दा केएल राहुलले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै डेब्यु खेलाडी कुर्नाल पाण्डयले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५६ रनको इनिङ्स खेले । रोहित शर्मा २८ रनमा आउट भए ।
इंग्ल्यान्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।