काठमाडौं । रुपनी राईडर्सले तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
राजविराजमा आइतबार भएको उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको हो ।
रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले पुरै २० ओभरमा अलआउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।
बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रन बनाए।
रुपनी राईडर्सका सुमित झाले सर्वाधिक ४ विकेट लिए । अनिल यादवले २ विकेट तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले समान १ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
रुपनीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए । निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए।
बोदे बर्साईनका बिशाल सुश्लिंगले ३ विकेट लिए । नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले समान १/१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए ।