काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले ३ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।
हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।
टियु क्रिकेट मैदानमा हुने प्रतियोगिता चैत २१ गतेबाट २८ गतेसम्म आयोजना हुनेछ ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ । सहभागी टिम मध्ये एक टिम ललितपुर मेयर्स-११ रहने छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ ।
क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्न लागेको हो ।
प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले फुटबललाई सँगै क्रिकेटलाई पनि महानगरले सहयोग गरेको बताए ।
'हामीले २० लाख सहयोग गरेका छौँ । यो पैसा प्रतियोगिताका लागि पुग्ने पैसा त हैन । तर, ललितपुर महानगरपालिकाले क्रिकेटमा पनि सहयोग गरेको छ भन्ने देखाउनु छ,' उनले भने, 'अर्को वर्ष पनि निरन्तरता दिने छौ । त्यसका लागि हामीले अर्को वर्षको बजेटमा राख्ने प्रयास गरेका छौँ।'
क्यानका सचिव अशोकनाथ प्याकुरेलले नगरपालिकाले क्रिकेटमा सहयोग गर्नु खुसीको कुरा भएको बताए ।