काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता चैत २१ गतेबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २१ गतेबाट २८ गतेसम्म आयोजना हुने जनाएको छ ।
क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्न लागेको हो ।
टियु क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ । सहभागी टिम मध्ये एक टिम ललितपुर मेयर्स-११ रहने छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ ।
प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले फुटबललाई सँगै क्रिकेटलाई पनि महानगरले सहयोग गरेको बताए ।
'हामीले २० लाख सहयोग गरेका छौँ । यो पैसा प्रतियोगिताका लागि पुग्ने पैसा त हैन । तर, ललितपुर महानगरपालिकाले क्रिकेटमा पनि सहयोग गरेको छ भन्ने देखाउनु छ,' उनले भने, 'अर्को वर्ष पनि निरन्तरता दिने छौ । त्यसका लागि हामीले अर्को वर्षको बजेटमा राख्ने प्रयास गरेका छौँ।'
क्यानका सचिव अशोकनाथ प्याकुरेलले नगरपालिकाले क्रिकेटमासहयोग गर्नु खुसीको कुरा भएको बताए ।