काठमाडौं । चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको सम्पूर्ण तयारी पूरा भएको छ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रिय क्रिकेटरहरु सप्तरी आईपुगेको र उद्घाटन खेलको लागि मैदान लगायत सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आइतबार कुशल भुर्तेल मार्की खेलाडी रहेको रुपनी राईडर्स र सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा यो पटक बसन्त रेग्मी, पवन सर्राफ, आसिफ शेख, अनिल साह, सुनिल धमला, मेहबुब आलम जस्ता राष्ट्रिय क्रिकेटरहरु तथा उमेर समुह राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका क्रिकेटरहरु समेत सहभागी रहेका छन् ।
लिगमा तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन , रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन , टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।
लिगमा सहभागी खेलाडीहरुको चयन अक्सनमार्फत गरिएको थियो।
सहभागी पाँचवटा टोलिले सिंगल राउण्ड रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्। सबै टिमले एकअर्का बिरुद्ध एक–एक खेल खेली सकेपछि अंकतालिकाको शीर्ष स्थानमा रहने दुई टिमले चैत्र १४ गते शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
लिगको पहिलो दिन एक खेल मात्र हुनेछ जसपछि चैत्र ९ गते देखि १२ गते सम्म दुईवटा खेल खेलिनेछ। चैत्र १३ गते लिगको अन्तिम एक खेल हुनेछ।
लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराएका छन्।
लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा संचालन हुनेछन्। दर्शकहरुले खेल हेर्नको लागि टिकट काट्नु पर्नेछ।