काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम उपलब्ध गराउने भएको छ ।
क्यानका सचिव असोकनाथ प्याकुरलेले महिला खेलाडीले दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने जानकारी गराए ।
खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको सचिव प्याकुरेलले बताए ।
‘आईसीसीबाट रकम प्राप्त भइसकेको छ । रकम केही थोरै प्राप्त भएको छ,’ उनले भने, ‘रकम थोरै भएकाले के कति दिन सकिन्छ, त्यो हेर्दै छौ ।’
क्यानले आईसीसीबाट ६ करोड प्राप्त गर्नु पर्ने हो । तर, क्यानका पदाधिकारी कै कमजोरीमा आईसीसीले ३ करोड रुपैँया मात्र उपलब्ध गराएको छ ।
महिला खेलाडीलाई क्यानले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक महिला खेलाडीको वर्गीकरण गरेको थियो ।
खेलाडीलाई वर्गीकरणमा राखेको करिब ६ महिनापछि महिला खेलाडीले पहिलो पटक पारिश्रमिक पाउन लागेका हुन् ।
क्यानले ६ महिनाका लागि खेलाडीलाई कन्ट्रयाक्ट दिएको थियो ।
महिला खेलाडीलाई क्यानले 'ए' , 'बी' र 'सी' गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।
'ए' श्रेणीमा रहेका खेलाडीले मासिक १५ हजार, 'बी' मा रहेका खेलाडीले १२ हजार र 'सी' का खेलाडीले मासिक १० हजार पाउने छन् ।
ए श्रेणी - रुबिना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सिता राना मगर, करुणा भण्डारी
बी श्रेणी - ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दू रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर
सी श्रेणी - कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द, शोभा आले