काठमाडौं । खेलाडी संघको पहिलो अध्यक्ष हुन्, राजेश्वर मान स्थापित ।
स्थापित खेलाडी संघमा एक कार्यकाल अध्यक्षको रुपमा रहे । उनको कार्यकालमा संघको कार्यकारी समितिमा रहेका पदाधिकारी मध्य धेरै जसो कुनै न कुनै संघमा आबद्ध थिए । अर्कोतर्फ खेलाडी संघको अध्यक्षनै प्रशिक्षक थिए । स्थापित संघको अध्यक्ष बन्दा उनी जिम्न्याास्टिकका प्रशिक्षक समेत थिए ।
स्थापित पछि खेलाडी संघको अध्यक्ष बने, दिपक विष्ट । दुई कार्यकाल संघको अध्यक्षको रुपमा बिताएका विष्टले खेलाडी हुँदा संघको अध्यक्ष बनेपनि दोस्रो कार्यकालमा भने उनी तेक्वान्दोका प्रशिक्षक बनिसकेका थिए ।
वर्तमान अध्यक्ष दिपक श्रेष्ठले खेलाडी संघमा आफ्नो कार्यकालको पहिलो तीन वर्ष बिताई सकेका छन् । ओलम्पिकका लागि खेलाडीलाई प्रशिक्षण दिइरहेका उनी कराँतेका प्रशिक्षक हुन् । उनी राखेपका कर्मचारी पनि हुन् ।
उनी मात्रै हैनन्, कार्यसमितिमा रहेका धेरै सदस्यहरु प्रशिक्षकको भुमिकामा छन् ।
तीनै प्रशिक्षकहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको नाममा घरेलु खेलकुदमा हालिमुहाली गरेका छन् । खेलाडीका मुद्धा भन्दा राज्यको स्रोत साधनमा संघका पदाधिकारीको स्वार्थ बढी देखिन्छ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्री खेलाडी संघ केही सिमिति ब्यक्तिको वरपर घुमिरहेको टिप्पणी गर्छन् ।
‘अहिले खेलाडी संघ नेपाली राजनीति जस्तै दुई–चार जनाको वरीपरी घुमिरहेको छ । आफ्नै नेतृत्व विकासका लागि संघका पदाधिकारी लागि परेका छन् ।’ क्षेत्रीले खेलपाटीसंग भने ।
उनले राखेपको जागिर खाईरहेका र खेलकुद संघमा रहेका व्यक्ति खेलाडी संघमा बस्न नहुने बताए ।
‘जो राखेपमा जागिरे छन्, खेलकुद संघका पदाधिकारी छन् । त्यही खेलाडी संघमा बसिरहेको छन् । जुन आफैमा विवादित छ । जसको अहिलेसम्म कसैले प्रश्न उठाएका छैनन् । किनकी सबैले आ–आफ्नो फाइदा हेर्नु छ ।’ उनले भने ।
खेलाडीको पृष्ठभुमीबाट आएका दिपक श्रेष्ठ सहितका प्रशिक्षकले अन्तराष्ट्रिय खेलकुदमा कीर्तिमानी सफलता हात पारे । अभाव र शोषणसंग लड्दै तत्कालिन अवस्थामा देश र आफ्नो नाम उँचो बनाए । जब तीनै खेलाडीहरु प्रशिक्षकमा बढोत्तरी भए, विगत बिर्सिए जस्तो गरे ।
वर्तमान अवस्थामा पनि खेलाडीको समस्याका उस्तै छन् । नियमित प्रशिक्षण छैन, खानलाई पौष्टिक तत्व ‘डाईट’ छैन, प्रतियोगिता छैन, भविष्य छैन । घोषित पुरस्कार रकम पाएका छैनन । तर बोल्दिने कोही छैन । संघ त छ, तर नेतृत्वमा तीनै प्रशिक्षक छन् । जो सिमित समूहको भत्ता र सुविधा बाहेक राज्यसंग बोल्दैनन्, सुन्दैनन् ।
खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले संघमा आफुहरु पुरा खेलाडी बनेरै बसेको बताए । ‘हामी संघमा कोही रेफ्री, कोही प्रशिक्षक र कोही कुनै न कुनै संघमा आवद्ध भएपनि हामी पूर्ण खेलाडीकै हैसियतमा खेलाडी संघमा बसेका छौ । हामी संघमा हुँदा रेफ्री, प्रशिक्षक भन्दा पनि विशुद्ध खेलाडी हौँ ।’ श्रेष्ठले भने ।
पूर्व कप्तान क्षेत्री भने प्रशिक्षक अथवा रेफ्री कहिल्यै पनि विशुद्ध खेलाडी मात्र हुन नसक्ने तर्क गर्छन् ।
‘प्रशिक्षक वा रेफ्री कहिल्यै पनि विशुद्ध खेलाडी मात्र हुन सक्दैनन् । उनीहरुका लागि अन्य संघहरु छन् ।’ उनले भने, ‘प्रशिक्षक वा रेफ्री, खेलाडी संघमा बस्दा नेतृत्व गर्न सक्ने व्यक्ति पछाडि परे । उनीहरुले आफ्नो भिडको नाममा राम्रो व्यक्तिलाई रोक्नु भयो । यहाँ एउटै व्यक्ति जता पनि अटाएको छ । यसका लागि अरु व्यक्तिनै रैनछन् भन्ने देखायो ।’
उनले थपे, ‘खेलाडी संघका अध्यक्ष श्रेष्ठ स्वयमः प्रशिक्षक हुन् । उनले ओलम्पिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । प्रशिक्षणका दौरान खेलाडीमाथी पर्न गएको अन्यायका विषयमा श्रेष्ठसँगै प्रशिक्षण लिइरहेका खेलाडीले उनैलाई खुलेर भन्न सक्ने की नसक्ने ? किनभने श्रेष्ठ खेलाडी संघका कार्यबाहक अध्यक्ष हुन् । उनीहरु आफ्नो हकका लागि खेलाडी संघको ढोकासम्म कसरी पुग्न सक्छन् ? यो विषय ती व्यक्तिहरुले बुझन जरुरी छ ।’
‘खेलाडी संघको उद्देश्य अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ता दिलाउने मात्र हैन । पदक जित्नबाट बन्चित गराइएका खेलाडीको बाटो सहज गराउनु पनि हो । अन्य खेलाडीको आवाज बन्नु पनि हो । खेलकुद नीतिका लागि दबाब दिनु हो । त्यसका लागि खेलाडी संघले कति पहल गर्यो ?’ क्षेत्रीले प्रश्न गरे ।
यो पनि ....
खेलाडीका समस्या कसले बोल्ने ?