काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले स्पेनको खेल पोशाक निर्माता कम्पनी केल्मीसंग प्रायोजन सम्झौता नविकरण गरेको छ । गतबर्षको सम्झौता रकममा भारी वृद्धि गर्दै एन्फाले केल्मीसंगको सहकार्यलाई निरन्तरता दिएको हो ।
एन्फाको अघिल्लो कार्यसमितिले केल्मीसंग ३ बर्षको प्रायोजन सम्झौता गरेको थियो । जसमा प्रत्येक बर्ष सम्झौता नविकरण गर्नुपर्ने शर्त राखिएको थियो । सोही अनुसार एन्फामा नयाँ कार्यसमिति आएपछि केल्मीसंग नयाँ सम्झौता भएको हो ।
सम्झौता अनुसार केल्मीले अखिल नेपाल फुटबल संघ एन्फालाई सन् २०१९ मा ८५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौता अनुसार कम्पनीले नेपाली फुटबल टिमलाई ३ सय ५० सेट जर्सीसमेत उपलब्ध गराउनेछ । जसको बजार मुल्य करिब १० लाख पर्नेछ ।
एन्फा उपाध्यक्ष पंकज नेम्वाङ सम्मिलित तीन सदस्यीय टोली चीन पुगेर सम्झौतामा हस्ताक्षर गरेको हो । टोलीमा खरिद समितिका संयोजक प्रदेशसिंह राठौर र बाग्लुङ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ रहेका थिए ।
सम्झौता पत्रमा एन्फाबाट उपाध्यक्ष नेम्वाङ र केल्मीका चीनियाँ प्रतिनिधिले हस्ताक्षर गरेका थिए । केल्मीसंग नेपालको तीन बर्षको प्रायोजन सम्झौता छ । अघिल्लो बर्ष नेपालले प्रायोजनबाट करिब ५५ लाख रुपैयाँ पाएको थियो ।