काठमाडौं । लाग्छ, नेपाली खेलकुदमा एथ्लेटिक्सको परिभाषा फेरीको छ । सामान्यतया कुद्नु, उफ्रिनु, थ्रो गर्नु लगायतलाई एथ्लेटिक्स भनिन्छ । तर, नेपालमा भने दौडिनुलाई मात्र एथ्लेटिक्सको परिभाषा बनाईएको छ ।
नेपालमा एथ्लेटिक्सको विकास र विस्तारका लागि स्थापना भएको अभिभावक संस्था नेपाल एथलेटिक्स संघले दौडलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ ।
एथ्लेटिक्सका फिल्ड इभेन्ट्स (हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, त्रिपल जम्प, सटपुट, डिस्कस थ्रो, हामर थ्रो,पोल भल्ट) का प्रतियोगिता नभएपछि खेलाडीहरुले नै संघमाथी प्रश्न उठाउँदै आलोचना गरेका छन् ।
दौडिनु, उफ्रिनु र थ्रो गर्नुलाई एथ्लेटिक्स सम्झिए पनि संघबाट त्यसको कुनै महशुस गर्न नपाएको एक खेलाडीले बताए ।
सात वर्षदेखि एथ्लेटिक्सको फिल्ड इभेन्ट्स खेल्दै आएका उनले हालसम्म संघको आयोजनामा कुनै पनि प्रतियोगिता खेल्न नपाएको गुनासो सुनाए ।
‘फिल्ड इभेन्ट्स सुरु गर्दा आफुलाई पनि एथ्लेटिक्स खेलाडी भएको महशुस गर्थे । दौडिनु मात्र नभइ उफ्रिनु र थ्रो गर्नुलाई पनि एथ्लेटिक्स हो सम्झिन्थे । तर, अहिले आफुलाई कता–कता नेपालमा एथ्लेटिक्स भनेको दौडिनु मात्र रहेछ भन्ने लाग्छ ।’ उनले भने, ‘फिल्ड इभेन्ट्सका प्रतियोगिता खै ? मैले फिल्ड इभेन्ट्स खेल्दै आएको सात वर्ष भयो । अहिलेसम्म संघले आयोजना गरेको एक प्रतियोगिता पनि खेल्न पाएको छैन ।’
उनले थपे, ‘हामीले खेल्ने भनेको वृहत राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मात्र हो । यसका छनोट प्रतियोगिता पनि राम्रोसँग आयोजना भएका छैनन् । संघले भनि दिओस्, हामी एथ्लेटिक्स खेल्दैनौ र एथ्लेटिक्सका खेलाडी हैनौ ।’
प्रतियोगिता आयोजनामा अब कोरोना बाहाना नबनौँ
नेपाल एथलेटिक्स संघले प्रतियोगिता आयोजना नगरे पनि कोरोना महामारीपछि मात्रै घरेलु खेलकुदमा करिब दशवटा राष्ट्रिय स्तरका दौड प्रतियोगिता आयोजना भए । शनिबार मात्रै दौडका स्प्रिन्ट विधाका खेल सम्पन्न भए । लामो समयदेखि स्प्रिन्टका खेल नभएपनि शनिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला संघको संयुक्त आयोजनामा पुनः एक पटक स्प्रिन्ट विधा ब्युँतिएको हो ।
तर, तीनै एथ्लेटिक्सका संघले फिल्ड इभेन्ट भने बिर्सदै गएका छन् । विभिन्न कर्पोरेट हाउसले दौड प्रतियोगिता आयोजना गरिरहँदा फिल्ड इभेन्ट आयोजना गर्नु संघको दायित्व रहेको सरोकारवाला बताउँछन् ।
एथ्लेटिक्स संघका पूर्व महासचिव सुनिल राजवंशीले एथ्लेटिक्सका फिल्ड इभेन्ट्स पनि समावेश गर्दै प्रतियोगिता आयोजना गर्नु आवश्यक भएको बताए । उनले कोरोनाको बाहाना गरेर प्रतियोगिता आयोजना गर्नबाट संघ पछि हट्न नमिल्ने बताए ।
‘अब हामीले दौड मात्र हैन, फिल्ड इभेन्ट्स पनि समावेश गरेर प्रतियोगिता गर्न आवश्यक छ । विगतभन्दा अहिले फिल्ड इभेन्ट्सका खेलाडी बढ्दो छन् । नयाँ राष्ट्रिय कीर्तिमान समेत बन्दै गएका छन् ।’ उनले भने, ‘मलाई लाग्छ गुणात्मक रुपमा यस विधाले पनि प्रगति गरिरहेको छ । जसमा सबैको ध्यान जान आवश्यक छ ।’
फिल्ड इभेन्ट्सका खेलाडी भने प्रतियोगिता नहुँदा खेलाडीको संख्या बढ्दो नभएर घट्दो क्रममा रहेको बताउँछन् । उनीहरुले खेलाडी पलायन हुनुको मुख्य कारण नै प्रतियोगिता नहुनु रहेको बताउँछन् ।
‘वर्षैसम्म प्रतियोगिता भएका छैनन् । प्रतियोगिता नहुँदा खेलिरहेका खेलाडी समेत निराश हुँदै जान्छ । अनि झन नयाँ खेलाडी कसरी आउँछन् ?’ उनले भने, ‘प्रतियोगिता नभएरै नेपाली खेलाडी विदेश पलाएन हुँदै गरेका छन् । किनभने उनीहरुले आफ्नो भविष्य सुनिश्चित गर्न सकेका छैनन् । सधै खेल प्रतिको मायाले मात्रै देशका लागि खेल्न सकिदैन । अर्को तिर आफ्नो परिवार पनि हुन्छ ।’
उनले फिल्ड इभेन्टमा प्रतियोगिता आयोजना गर्ने सोच भएका प्रशिक्षकको कमीका कारण पनि प्रतियोगिता हुन नसकेको बताए ।
फिल्ड इभेन्ट्सको प्रशिक्षण मैदान नै छैन्
दौडका लागि प्रतियोगिता आयोजना गर्न सम्भव भएपनि फिल्ड इभेन्टका लागि भने मैदान नै नभएको खेलाडीहरु बताउँछन् । खासगरी ज्याभलिङ थ्रोका लागि प्रशिक्षण गर्न समेत मैदान नभएको खेलाडीको गुनासो छ । नेपालमा आयोजना भएको १३ औं साग खेलेका एक खेलाडीले साग अघि आफुले प्रशिक्षण गर्ने मैदान समेत नपाएको सुनाए ।
‘हामी पनि सागका लागि छनोट भएका थियौं । सागका लागि छनोट भएका अन्य खेलाडी कोही विदेश त कोही उपत्यका बाहिर गएर बन्द प्रशिक्षणमा थिए । हामी भने उपत्यका मै सिमित भयौं ।’ उनले भने, ‘हामी उपत्यकामै सिमित भयौ भन्ने हाम्रो गुनासो हैन । हामीले त भोली खेल हुँदा समेत आज अभ्यास गर्न पाएनौ ।’
उनी यतिमै रोकिएनन्, ‘सागका बेला हामीले मैदानमा दुई राउण्ड दौड र वार्म अप बाहेक अरु केही गर्न पाएनौ । हामीलाई फुटबल मैदान बिग्रिन्छ भनेर भाला फ्याक्न दिइएन । अनि प्रतिस्पर्धामा मात्र पदक खोजेर हुन्छ ।’
उनले राम्रो प्रशिक्षण र प्रतियोगिता विना फिल्ड इभेन्टमा अन्तर्राष्ट्रिय पदक जित्न गाह्रो भएको बताए ।
खेलाडीहरुले राम्रो प्रशिक्षकविना युट्युबलाई मात्र गुरु बनाएर २२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान ब्रेक गर्न नसकिने बताए ।
साग, फिल्ड इभेन्ट्स र पदक
दक्षिण एसियाली खेलकुद (साग) मा सुरुवाती संस्करणदेखि नै एथ्लेटिक्सले सहभागिता जनाउँदै आएको छ । दौडमा मात्र नभई फिल्ड इभेन्ट्समा पनि खेलाडीले आफ्नो चुनौती प्रस्तुत गरेका छन् ।
निरन्तर सागमा सहभागिता जनाउँदै आएको फिल्ड इभेन्ट्सले हालसम्म चार पदक जितेको छ । जसमा चार वटै पदक ज्याभलिङ थ्रोका रहेका छन् । नेपालका लागि ज्याभलिङ थ्रोमा खुर्सेद अहमेद खानले मात्र पदक जितेका हुन् । ज्याभलिङ थ्रोका चार वटै कास्य पदक उनको नाममा छन् । उनकै नाममा २२ वर्ष पुरानो कीर्तिमान पनि छ ।
खुर्सेद अहमेदले सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको सागमा ज्याभलिङ थ्रोमा नेपाललाई पहिलो पटक पदक जिताएका थिए । उनले ६४ दशमलव ८० मिटर भाला फाल्दै कास्य पदक जिते ।
त्यसपछि सन् १९९३ मा बंगलादेशको ढाकामा भएको सागमा ६२ दशमलव ४९ मिटर सहित दोस्रो पटक कास्य जिते । भारतको मद्रासमा आयोजना भएको १९९५ को सागमा उनले आफ्नो प्रदर्शनमा सुधार गरे । उनले सातौ सागमा ६६ दशमलव ८३ मिटर भाला फाल्दै लगातार तेस्रो पटक सागमा कास्य पदक जिते ।
सन् १९९९ मा नेपालमा आयोजना भएको आठौं सागमा उनले आफ्नो करियको चौथो कास्य पदक जिते । उनले ७० दशमलव ३९ मिटर भाला फाल्दै कास्य जितेका थिए । ज्याभलिङ थ्रोमा खुर्सेद अहमेदले फालेको ७० दशमलव ३९ मिटरको दुरीनै अहिलेसम्मको नेपाली खेलाडीको सर्वाधिक दुरी हो । जुन कीर्तिमान २२ वर्षदेखि कायम छ । नेपालको फिल्ड इभेन्ट्स बाहेक अन्य आठ सय मिटरसम्मका दौडमा पनि सागमा पदक जित्न सकेको थिएन । नेपालले पहिलो पटक १३ औं सागमा आठ समय मिटर दौडमा पदक जितेको छ ।