धनगढी । न्यु एकेडेमी रुपन्देहीले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा जित निकालेको छ ।
बुधबार भएको खेलमा न्यु एकेडेमीले गुरुकुल एकेडेमीलाई २ विकेटले पराजित गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा गुरुकुलले दिएको १ सय २४ रनको लक्ष्य न्यु एकेडेमीले १७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
न्यु एकेडेमीको जितमा सुवास थापाले ४० रनको योगदान दिए । यस्तै लोकेश जोशीले ३२ रन बनाए ।
गुरुकुलका अविशेक कुँवरले ३ विकेट लिए । लक्ष्मण देवकोटा र संगम विष्टले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको गुरुकुलले २० ओभरमा १० विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
उसका लागि नविन ढुंगानाले ४३ रन बनाए । विवेक बमले ११ र प्रदिप कुमारले १० रन बनाए ।
न्यु एकेडेमीका समिर विष्टले ३ विकेट लिए । अनिल थापा, पारस उपाध्याय र अजय चन्दले २/२ विकेट लिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।