काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर-११ लाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो ।
पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे ।
यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए ।
दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।
काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३/३ विकेट लिए ।
आज पुलिस तेस्रो जितको खोजीमा रहेको छ । पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
पुलिसले ३ खेलमा ४ अंक जोडेको छ ।
पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।
काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।
आज काठमाडौं पुलिसलाई हराएर फाइनल पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ ।
पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।