काठमाडौं । विभागीय टोली एपीएफ क्लबका कप्तान शरद भेषवाकरले आफनो टोलीलाई चोटले सताएको बताएका छन् ।
काठमाडौं मेयर्स कप अन्तर्गत मंगलबार बागमती प्रदेशविरुद्धको खेलमा हार व्यहोरेपछि कप्तान भेषवाकरले टोलीलाई चोटले सताएको बताएका हुन ।
बागमतीविरुद्ध फिनिसिङ चुकेको एपीएफले चोटका कारण खेलाडीले आफनो प्रदर्शन देखाउन नसकेको उनले बताए । उनले चोटका बाबजुत खेलाडीले पिचमा देखाएको प्रदर्शनबाट आफु खुसी रहेको बताए ।
‘टोलीमा धेरै जसो खेलाडी चोटग्रस्त छन् । चोटका बाबजुद पनि उनीहरुले खेल । उनीहरुको प्रदर्शनबाट खुसी छु,’ कप्तान भेषवाकरले भने, ‘सधै एकै नासको प्रदर्शन हुन्छ भन्ने पनि हैन । आज हाम्रो लागि पनि त्यहि भएको हो ।’
सुरुवाती दुई खेल मैदान बाहिर रहेका प्रदिप ऐरीले बागमतीविरुद्ध खेल्ने मौका पाएका थिए । तर, उनी पहिलो खेलमा नै चोट बोक्न पुगे ।
‘आजको खेलमा प्रदिपले फेरि चोट बोके । उनी सायद अब केही समय मैदानमा बाहिर रहने पक्का जस्तै छ,’ उनले भने ।
बागमतीविरुद्ध एपीएफ फिनिसिङमा चुकेको भेषवाकरले स्वीकारे । उनले आजको खेलमा एपीएफले नराम्रो खेलको भन्दा पनि बागमतीले राम्रो खेलेको बताए ।
एपीएफले अबको बाँकी एक खेल मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । मुलपानी मैदानबारे टिका टिप्पणी भइरहेका बेला उनले राम्रो खेल्दै जित्ने पयास गर्ने बताए ।
‘मुलपानी मैदान त्यस्तै छ भन्ने सुनेको छु । त्यो दुबै टोलीका लागि हो । त्यसैले हामी राम्रो खेल्ने प्रयास गर्ने छौ,’ उनले भने ।
आज भएका दुबै खेलको नतिजाले मेयर्स कपको थप रोमाञ्चकता थपेको छ ।
सहभागी पाँच टोली मध्ये दुई टोलीले फाइनल खेल्ने प्रतियोगिताको फाइनलिस्ट दुई टोलीको टुङगो लाग्न अन्तिम खेलसम्म पर्खिनु पर्ने उनले बताए ।
कप्तान भेषवाकरले एपीएफका लागि अर्धशतकीय इनिङ्स खेलेका आशिफको तारिफ समेत गरे । तर, उनीमा अझै परिपक्वता नआएको बताए ।
बागमतीका कप्तान ज्ञानेन्द मल्लले आजको जितले मेयर्स कपमा अर्को चरणको लागि गणितीय आशा जगाएको बताए ।
मुलपानी मैदानमा सुरुवाती दुई खेल हार्न पुगेका उनले एपीएफविरुद्धको जितले अर्को चरणको गणितीय आशा जीवित रहेको बताए ।
उनले मुलपानी मैदानको स्तर नपुगेको समेत बताए ।