काठमाडौं । हाम्रो किचेन क्रिकेट क्लब र बल पार्क एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भएपनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो ।
हाम्रो किचेन समूह 'ए' बाट सेमिफाइनल पुगेको हो । यस समूहबाट आयोजक पाकिस्तान दूतावास र लायम क्रिकेट क्लब बाहिरिएका छन् ।
यस समूहमा समान २ अंक भएपनि नेट रन रेटका आधारमा हाम्रो किचेन सेमिफाइनल पुग्न सफल भयो ।
टस जितेर ब्याटिङ रोजेको हाम्रो किचेनले २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
हाम्रो किचेनको लागि पवन रोकाले अविजित ४८ रन बनाए । यस्तै आदित सुबेदीले ३२ रन बनाए । लायनको प्रसिद्द श्रेष्ठ र शुभम अग्रवालले समान ३-३ विकेट लिए ।
हाम्रो किचेनले दिएको १ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लायन क्लबले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४३ रन बनाउन सफल रह्यो ।
लायनको जितमा शुभम अग्रवालले सर्वाधिक ३४, अभिनव बस्नेतले ३० र अभिषेक अग्रवालले अविजित २२ रन जोडे ।
हाम्रो किचेनको लागि क्रिस ऐरले सर्वाधिक ३ विकेट लिए ।
अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटार क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्यो ।
पवन राईको शतकीय इनिङ्स खेल्दै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटारलाई २ सय १२ रनको लक्ष्य प्रस्तुत गर्यो । काठमाडौंको लागि पवन राईले १ सय १४ रन बनाए भने दुर्गेश थापा २२ रन बनाए ।
२ सय १२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लब १ सय ६२ रनमा जोड्दा अल आउट भयो ।
बालुवाटारको लागि इन्द्र कमल मानन्धरले सर्वाधिक ४० रन बनाए । यस्तै प्रबिन जोशिले २३ रन बनाए ।
काठमाडौंका तुलाराम लामिछानेले ४ तथा सुलभ अलिले २ विकेट लिए ।
समूह 'बी' बाट बल पार्क सेमिफाइनल पुग्यो । समान दुई अंक भएपनि बालुवाटार क्रिकेट क्लब र काठमाडौं क्रिकेट एकेडेमी सेन्टर नेट रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरियो ।