काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ । सहभागी टिम मध्ये एक टिम ललितपुर मेयर्स-११ रहने छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने प्रतियोगिता चैतमा हुने बताईएको छ ।
क्यानले प्रतियोगिता आयोजनाका लागि मंगलबार ललितपुर महानगरसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।
ललितपुर महानगरपालिकाका उप-प्रमुख गीता सत्यालले महिला क्रिकेट खेलाडीको प्रवर्द्धन र विकासमा टेवा दिने उदेश्यले सहकार्य गरिएको बताईन् ।
महिला क्रिकेट खेलाडीको प्रवर्द्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्य हो,' उनले भनिन्, 'यस कार्यले महिला खेलाडीलाई खेलकुदमा लाग्न प्रोत्साहन गर्ने विश्वास लिएको छु ।'
क्यानका अध्यक्ष चन्दले नेपाली क्रिकेटमा सहयोगी हातको अभाव भईरहेको बताउदै ललितपुरको सहयोगलाई धन्यवाद दिए ।
'नेपाली क्रिकेटमा सहयोगी हातहरुको अभाव भईरहेको अवस्थामा ललितपुर महानगरको यो सहयोगका लागि धन्यवाद,' उनले भने ।
क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुषको मेयर कप क्रिकेट संचालन गरिरहेको छ ।