काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए ।
यस्तै प्लेयर अफ दि म्य्च बनेका पवन सर्राफले अविजित २२ रन बनाए ।
दिलिप नाथले १५ रन बनाएर आउट भए ।
आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए ।
पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।
जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ ।
पहिलो खेलमा बागमतीलाई हराएको पुलिसले दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
आर्मीको यो दोस्रो हार हो । आर्मीले ३ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो ।