काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जितका लागि एपीएफ क्लबलाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनायो ।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकीय इनिङ्स खेले ।
तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले ८४ बलमा ७ चौकासहित ५७ रन बनाए ।
यस्तै नन्दनले ५६ बलमा ७ चौका र २ छक्कासहित अविजित रहदै ६० रन बनाए ।
आदील खानले ३४ रन जोड्दा सोनु देवकोटा ५ रनमा अविजित रहे ।
इशान पाण्डेले ३१ रन जोडे भने पारस खड्का २९ रन बनाएर पेभेलियन फर्किए ।
पृथु बास्कोटा ५ रनमा आउट हुँदा आकाश थापा १ रनमा आउट भए ।
एपीएफका अमर रौटेला र किशोर महतोले २/२ विकेट लिए ।
आज एपीएफ लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित निकालेको थियो ।
बागमती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ ।
बागमतीले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो ।
पहिलो खेलमा पुलिससँग २ रनले पराजित बागमती दोस्रो खेलमा काठमाडौं मेयर-११ सँग ९४ रनले पराजित भएको थियो ।