धनगढी । शारदा विद्या निकेतनले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा जित निकालेको छ ।
सोमबार भएको खेलमा शारदा विद्या निकेतनले नेक्सस स्कुललाई २ विकेटले पराजित गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा नेक्ससले दिएको १ सय ५३ रनको लक्ष्य शारदाले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
शारदाको जितमा अर्जुन साउदले शतकीय इनिङ्स खेले । साउदले ६२ बलमा १२ छक्का र ६ चौकाको मद्दतमा अविजित रहँदै १ सय १३ रन बनाए ।
उनको यो शतक जारी प्रतियोगिताकै पहिलो शतक हो । साउद खेलको प्लेयर अफ दि म्याच चुनिए ।
नेक्ससका राज बम र सन्दीप पाण्डेले समान २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओरभमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।
उसका लागि विपिन विक्रम शाहीले ५३ र रमेश बुढाथोकीले ४१ रन बनाए । शारदाका दीपक रोकायाले ३ विकेट लिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।