काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं मेयर-११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द म्याच बनेका उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रन बनाए ।
कप्तान विनोद भण्डारीले अविजित २० रन जोड्दा राजेश पुलामी ८ रनमा अविजित रहे ।
काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो ।
काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । उनले ७४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए ।
त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए ।
आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ विकेट लिए । जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १/१ विकेट लिए ।
जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ ।
आर्मी पहिलो खेलमा पराजित भएको थियो । आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले पराजित भएको हो ।
काठमाडौंको यो पहिलो हार हो ।
काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो ।
काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।