काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १ सय ५६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनायो ।
काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । उनले ७४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाए ।
त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रन जोड्दा आउट भए ।
आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ विकेट लिए । जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १/१ विकेट लिए ।
आज विभागीय टिम आर्मी पहिलो जितको खोजीमा रहेको छ ।
पीयम कप क्रिकेटको विजेता आर्मी पहिलो खेलमा पराजित भएको थियो ।
विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले पराजित भएको हो ।
आर्मी अंक विहीन रहेको छ ।
काठमाडौं भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो ।
काठमाडौंले प्रतियोगितामा १ खेलमा २ अंक जोडेको छ ।