काठमाडौं । विभागीय टिम एपीएफ क्लबले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
पुलिसले दिएको २ सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा सन्दीप जोराले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
यस्तै सुवास खकुरेलले पनि ५० रनको अर्धशतकीय इनिङ्स खेले । आसिफ शेखले ४२ रन जोड्दा कमल ऐरीले १४ रन बनाए ।
सुमित महर्जन ३३ रनमा अविजित रहदा कप्तान शरद भेषवाकर २० रनमा अविजित रहे ।
पुलिसका पवन सर्राफले ५ विकेट लिए । योगेन्द्र सिंह कार्कीले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले १ सय ४० रनको शतकीय इनिङ्स खेले । दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।
दिपेन्द्रको यो करियरकै पहिलो शतक हो । दिपेन्द्र प्लेयर अफ दि म्याच चुनिए ।
यस्तै पवन सर्राफले ३५ रन जोड्दा सुनिल धमलाले ३३ रन बनाए । अनिल साहले १८ र कुशल भुर्तेलले १० रन जोडे ।
एपीएफका शरद भेषवाकरले ३ विकेट लिए । अविनास बोहराले २ तथा अमर रौटेलाले १ विकेट लिए ।
जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले नै हराएको थियो ।
पुलिसको भने यो पहिलो हार हो । पुलिसले २ खेलम २ अंक जोडेको छ ।
पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई २ रनले हराएको थियो ।