धनगढी । शारदा स्कुलले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा विद्या भुषण स्कुललाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
उसका लागि शेर मल्लले सर्वाधिक ४३ रन बनाए । विरेन्द्र नाथले ३८ रन जोड्दा नरेश विष्टले १५ रन बनाए ।
शारदाका कुम्बा देउवाले ३ तथा अविशेक पल र सिफ्टाईन अन्सारीले २/२ विकेट लिए ।
विद्या भुषणले दिएको १ सय ३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । लक्की खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।
शरण अच्छामीले अविजित १७ रन जोड्दा सिफ्टाईन अन्सारीले १६ रन बनाए ।
विद्या भुषणका नरेन साउदले ३ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत नै लिटल बुद्ध र नेक्सस स्कुलबीचको खेल रद्द भएको छ ।
लिटल बुद्ध खेल खेल्न नआएपछि खेल रद्द भएको हो ।
खेल रद्द भएपछि नेक्ससले २ अंक पाएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।