काठमाडौं । विभागीय टिम एपीएफ क्लबका कप्तान शरद भेषवाकरले आफ्नो व्यक्तिगत प्रदर्शन भन्दा टोलीको जितमा खुसी हुने बताएका छन् ।
काठमाडौं मेयर कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबमाथी रोमाञ्चक जित निकालेपछि कप्तान भेषवाकरले आफ्नो प्रदर्शन भन्दा टोलीको जितमा खुसी हुने बताएका हुन् ।
‘आज भोली आफ्नो प्रदर्शन भएन भनेर दुखी हुन छोडी सके,’ कप्तान भेषवाकरले भने, ‘मलाई टोलीको जितमा खुसी लाग्छ । आफ्नो प्रदर्शनलाई लिएर दुखी हुनुको अर्थ पनि छैन ।’
पछिल्लो समय चोटबाट फर्किएका भेषवाकर गत महिना भएको प्रधानमन्त्री कप क्रिकेटमा उच्च प्रदर्शन गर्न चुकेका थिए ।
शनिबार आर्मीविरुद्धको खेलमा पनि उनले आफ्नो व्यक्तिगत प्रदर्शन देखाउन सकेनन् । पहिलो विकेट गुमाएपछि मैदान प्रवेश गरेका उनी ९ बल खेल्दा रन नजोडी पेभिलियन फर्किएका थिए ।
उनी आर्मीका तीव्र गतिका बलर सोमपाल कामीको बलमा सुशन भारीको हातबाट क्याच आउट भए ।
यस्तै भेषवाकरले आर्मीविरुद्धको जितलाई एपीएफको अहिलेसम्मकै उत्कृष्ट कमब्याक खेल भएको बताए ।
‘आर्मीविरुद्धको यो खेल एपीएफ एतिहास मध्यकै उत्कृष्ट खेल हो । खेलाडीले टिमका लागि आफ्नो योगदान निकै दिए,’ उनले भने ।
खेलमा एक समय एपीएफ १६ रन हुँदा चार विकेट गुमाएको स्थितीमा थियो । तर, त्यसपछि सुमित महर्जन, बसन्त रेग्मी र अमर रौटेलाले उत्कृष्ट इनिङ खेलेपछि एपीएफको जित सम्भव भएको थियो ।
‘आजको जितले खेलाडीको मनोबल बढेको छ । पीएम कपको हारलाई बिर्साएको छ । यसले भोलीको खेलमा लागि थप उर्जा समेत दिएको छ । किनभने आर्मी राम्रो टोली हो । त्यसमा पनि आजको खेलमा आर्मीका तीन मुख्य खेलाडी फर्किएक थिए,’ कप्तान भेषवाकरले भने ।
यता आर्मीका कप्तान विनोद भण्डारीले खेलमा नाम मात्र ठुलो विषय नभएको प्रतिक्रिया दिए । उनले मैदान भित्र पसिसकेपछि सबै समान भएको भन्दै खेलमा सबैको भूमिका उत्तिकै रहने बताए ।
‘हाम्रो टोलीमा केही ठुला नामका खेलाडी होलान् । तर, खेलमा नाम ठुलो भएर मत्र हुँदैन् । मैदान उसले आफ्नो काम पनि गर्नु पर्छ,’ आर्मीका कप्तान भण्डारीले भने, ‘मैदान उत्रिने सबै ११ जना खेलाडी समान हुन् । खेलमा उनीहरुको सबैको भुमिका समान र उत्तिकै हुन्छ । पीएम कपमा हाम्रो टिम मध्यम थियो । तर, हामीले त्यो प्रतियोगितामा राम्रो प्रदर्शन गरेर जितेका हौँ ।’
उनले थपे, ‘आजको खेलमा हामीले सुरुवाती १० ओभरमा राम्रो गरेका थियौ । त्यसपछि बाँकी २० ओभर निकाल्न तिर लाग्यौ । र त्यसको फाइदा एपीएफका खेलाडीले लिए । उनीहरुका केही खेलाडी राम्रो प्रदर्शन गरे र जित आफ्नो पक्षमा पारे ।’
प्रतियोगिताका प्लेयर अफ दि म्याच बसन्त रेग्मीले आफ्नो आजको इनिङ्स टोलीका लागि महत्वपूर्ण भएकाले आफ्नो योजना अनुसार खेल्दा सफल भएको बताए ।
उनले आर्मीविरुद्धको खेलमा एपीएफलाई ४९ रन बनाउँद एक विकेट लिएका थिए ।
‘आजको खेल मेरा लागिभन्दा पनि टोलीका लागि महत्वपूर्ण थियो,’ उनले भने, ‘सधै टिमको लागि योगदान दिन सकु मेरो चाहना त्यही हो । चाहे त्यो देशका लागि होस् वा क्लबका लागि । म बलिङ र ब्याटिङ दुबैमा आफ्ना टोलीमा राम्रो योगदान दिन चाहन्छु । त्यसमा व्यक्तिगत स्वार्थ हुँदैन् ।’