धनगढी । कैलाली बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका लगातार तेस्रो जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । उसका लागि विराट सिंह भण्डारीले ५५ र दिपेश सिंहले २३ रन बनाए ।
गुरुकुल एकेडेमी लम्कीका सुनिल भण्डारीले ३ र संगम विष्टले २ विकेट लिए ।
बाल बाटिकाले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुरुकुलले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो ।
गुरुकुलका विश्वास श्रेष्ठले ३७ रन जोड्दा संगम विष्टले ३० रन जोडे ।
बाल बाटिकाका कमल वली र कमल कुँवरले ३/३ विकेट लिए ।
बाल बाटिकाका विराट सिंह भण्डारी प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।