काठमाडौं । विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो ।
एपीएफको जितमा सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ८ चौका प्रहार गर्दै ६० रन जोडे ।
सुमितले बसन्त रेग्मीसँग ७१ रनको साझेदारी गरे ।
बसन्त अर्धशतक बनाउनबाट एक रनले चुके । ४९ रनमा बसन्त करण केसीको बलमा भिम सार्कीको हातबाट क्याच आउट भए । उनले ७९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४९ रन बनाए ।
त्यस्तै शंकर रानाले ३३ रनको योगदान दिए । उनले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाए ।
एपीएफको १६ रन हुँदा चार विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका सुमितसँग शंकरले ५२ रनको साझेदारी गरेका थिए । अमर रौटेलाले ३८ रनको योगदान दिए । उनले ३१ बलमा एक चौका र चार छक्का प्रहार गरे ।
त्यस्तै आसिफ शेखले १२ र भुवन कार्कीले १० रनको योगदान दिए । कमल ऐरी ४ र अभिनास बोहरा ७ रनमा अविजित रहे ।
आर्मीका बिक्रम सोबले तीन विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बमले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो ।
आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ३ चौका प्रहार गर्दै अर्धशतकीय इनिङ्स खेलेका हुन् । उनी कमल ऐरीको बलमा कप्तान शदर भेषवाकरको हातबाट क्याच आउट भए ।
यस्तै कप्तान विनोद भण्डारीले ४२ रन बनाए । लोकेश बमले ३० रन जोड्दा सोमपाल कामीले २८ रन बनाए । पहिलो विकेटका लागि ओपनरद्धय सोमपाल र लोकशले ६१ रनको साझेदारी गरेका थिए ।
भिम सार्कीले १८ र राजेश पुलामीले १७ रन बनाए । कुशल मल्लले ११, बिक्रम सोब ४, करण केसी २ र सुशन भारी सुन्य रनमा आउट भए ।
एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए । यस्तै अमर रौटेला र भुवन कार्कीले २/२ विकेट लिए ।
बसन्त रेग्मी र कमल ऐरीले १/१ विकेट लिए ।
यस जितसँगै एपीएफले गत महिना प्रधानमन्त्री कपमा आर्मीसँग व्यहोरेको हारको बदला लिएको हो ।
पीएम कपको फाइनलमा आर्मीले एपीएफलाई ३३ रनले हराएको थियो ।
जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।