धनगढी । होलिल्याण्ड स्कुलले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको धनगढी नमुनाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
धनगढी नमुनाका अनुप कुँवरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आयुस खड्काले अविजित रहदै ६४ रनको योगदान दिए ।
बसन्त सिंह कार्कीले २० रन बनाए ।
होलिल्याण्डका अविशेक कोइरालाले ३ तथा राजेश महराले २ विकेट लिए ।
धनगढीले दिएको १ सय ६४ रनको लक्ष्य होलिल्याण्डले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
होलिल्याण्डको जितमा मनोज ओझाले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै राहुल भण्डारीले ४७ रन जोड्दा गौरव सिंह राउतले २१ रन बनाए । दिपक टमटा २० रनमा अविजित रहे ।
धनगढी नमुनाका सबिन महरा,पारस कार्की,बसन्त सिंह कार्की र आयुस खड्काले १/१ विकेट लिए ।
होलिल्याण्डका मनोज प्लेयर अफ द म्याच चुनिए ।
जारी प्रतियोगितामा धनगढी नमुनाको यो लगातार तेस्रो हार हो । यस हारसंगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।