काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेटको पहिलो खेलमा अहिले दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा एपीएफले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । एपीएफले फिल्डिङ रोजेपछि आर्मीले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
प्रतियोगिता अन्तर्गत आजै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा आयोजक टिम काठमाडौं मेयर-११ सहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।
प्रतियोगितामा खेलाडीले प्रति खेल २ हजार म्याच फि प्राप्त गर्दा प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।