काठमाडौं । सरस्वती मल्टिपल कलेज (एसएमसी) र एमएमएएमसी विराटनगरले पीवाईसी इन्टर कलेज टीयु बीबीए कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एसएमसीले किस्ट कलेजलाई ६ विकेटले पराजित गर्यो ।
किस्टले दिएको ८३ रनको लक्ष्य एसएमसीले १२ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
एसएमसीको जितमा गोविन्द कुमार सिंहले २७ रन जोड्दा राम गुप्ताले २२ रन जोडे । यस्तै क्षितिज पौडेलले २१ रन बनाए ।
किस्टका धिरज ठगुन्नाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको किस्टले १८ ओभरमा अलआउट हुँदै ८२ रन बनाएको थियो ।
किस्टका मोहन कड्यातले १३ रन जोड्दा रोशन कार्कीले ११ रन जोडे ।
एसएमसीका दिपेश अधिकारी र केशव पोखरेलले २/२ विकेट लिए ।
अर्को खेलमा एमएमएएमसीले युनिभर्सल कलेजलाई ७० रनले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको एमएमएएमसीले २० ओभरमा ५ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । उजाल कार्कीले २३ रन बनाए ।
युनिभर्सलका धिरेन्द्र बस्नेतले २ विकेट लिए ।
एमएमएएमसीले दिएको लक्ष्यसहित ब्याटिङ गरेको युनिभर्सलले १३ ओभर ४ बलमा अलआउट हुँदै ४८ रन बनाउन सक्यो।
युनिभर्सलका सौगात डंगोलले ३३ रन बनाए ।
पब्लिक युथ क्याम्पसको आयोजना र चन्द ब्रोदर्स प्राइभेट लिमिटेडको संयोजकत्वमा जारी प्रतियोगितामा १७ वटा बीबीए कलेजको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेताले ३५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्समेन र उत्कृष्ट बलरलाई नगत सहित ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कार पाउनेछन् ।