काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले नगद ५ लाख पाउने जनाएको हो ।
यस्तै उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।
प्रतियोगितामा खेलाडीले प्रति खेल २ हजार म्याच फि प्राप्त गर्दा प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।
टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।
प्रतियोगितामा आयोजक टिम काठमाडौं मेयर-११ सहित प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिता आयोजनाको लागि क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।
क्यानले पहिलो पटक महानगरसँग सहकार्य गरेको हो ।
क्यानका सचिव प्याकुरेलले यस सहकार्य ग्रासरुटसम्म पुग्नेमा विश्वस्त रहेको बताए ।
महानगरका समाजिक विकास विभागीय प्रमुख दिपक अधिकारीले क्रिकेट खेलाडी उत्पादन र खेलकुद विकासका लागि महानगरले क्यानसँग सहकार्य गरेको बताए ।