भैरहवा । वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गत ‘ए’ डिभिजनमा देवदह क्रिकेट क्लबमाथी फराकिलो जित निकालेको छ ।
बिहीबार भएको खेलमा वेस्टर्नले देवदहमाथी १ सय ४६ रनको फराकिलो जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्टर्नले ४४ ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन जोडेको थियो ।
वेस्टर्नको जितका लागि बिक्रम भुषालले सर्वाधिक ४९ रन जोडे । उनले ५३ बलको सामना गर्दै ५ चौका र २ छक्काको सहयोगमा ४९ रनको योगदान दिएका हुन् ।
त्यस्तै राहुल कुमारले ४६ रन जोड्दा खनित खरेल ३६ रनमा अविजित रहे । सन्देश थापाले २१ र उत्तम थापाले १० रन जोडेका थिए ।
बलिङतर्फ बिकास श्रेष्ठले तीन तथा अर्जुन राइमाझी र सन्दीप पाण्डेले दुई दुई विकेट लिए ।
वेस्टर्नले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको देवदहले २२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ७५ रन जोड्न सक्यो ।
देवदहका लागि सुदिप जिसीले सर्वाधिक अविजित १८ रन जोड्न बाहेक अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन् ।
देवदहलाई सस्तैमा समेट्न वेस्टर्नका लागि अनिल खरेलले सर्वाधिक ५ विकेट लिए । त्यस्तै एकेन्द्र कुमारले दुई तथा राहुल कुमार, हरजीत सिंह र सन्दीप थापाले समान एक एक विकेट लिए ।
यस हारसंगै देवदह बी लिगमा घटुवा भएको छ ।