पोखरा । आयोजक टिम पोखरा सुपर जनरल अन्तर क्लब टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘क’ को अन्तिम खेलमा बिहीबार बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै पोखराले अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।
यस जितसंगै ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहदै पोखरा सेमिफाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले सोनु तामाङको विस्फोटक ब्याटिङसंगै १ सय २५ रन जोडेको थियो । १९ बलको समाना गरेको सोनुले ४ छक्का र २ चौका प्रहार गर्दै ३७ रन जोडेका थिए । पारस रावलले पनि ३४ रन बनाए ।
पोखराका लालबहादुर अधिकारीले र किरण पौडेल २/२ तथा दिपेश खत्री र गोविन्द प्रधानले १/१ विकेट लिन सफल भएका थिए ।
१ सय २६ रनको लक्ष्य पछ्याएको पोखराका लागि विधान श्रेष्ठले ४७ रनको योगदान दिए । श्रेष्ठले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यस्तै रिजन प्रजुले २७ रन जोड्दा प्रविण ढकालले १५ रन बनाएका थिए । बालुवाटारका बलर सोनु तामाङले ३ विकेट लिए ।
बिहीबार नै भएको समूह 'बी' को खेलमा पेलिक्याण्ट्स क्रिकेट क्लब तनहुँले बाग्लुङ क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ ।