धनगढी । लिटल फ्लावर स्कुलले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ ।
बिहीबार भएको खेलमा शारदा स्कुललाई ९ विकेटले हराएर लिटलले पहिलो जित निकालेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
लिटलको जितमा सुवाश ऐरले विस्फोटक ब्याटिङ गर्दै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
उनले १६ बलमा अर्धशतकीय इनिङ्स खेलेका हुन् । प्लेयर अफ दि म्याच बनेका सुवाश यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने ।
यस्तै नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए ।
शारदाका लक्की कडायतले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो ।
उसका सचिन साउदले अविजित ३१ रन जोडे । युवराज थापाले १४ रन बनाए ।
लिटलका मनोज चुनारा,सुवाश ऐर र सचिन भट्टले २/२ विकेट लिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।