एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले पहिलो टी-ट्वान्टीमा श्रीलंकालाई पराजित गरेको छ ।
बिहीबार भएको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि कप्तान काइरन पोलार्डले सर्वाधिक ३८ रन बनाए । उनले छैटौं ओभरमा स्पिनर अलिका धनञ्जयको ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
यस्तै जासन होल्डरले अविजित २९ रन जोड्दा इभिन लेविसले २८ रन बनाए । लेन्डल सिमोन्सले २६ रन जोडे ।
श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
यस्तै डी सिल्भाको नाममा ३ विकेट रह्यो ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।
श्रीलंकाका पाथुम निशनकाले ३९ रन जोड्दा निरोशन डिक्वेलाले ३३ रन बनाए ।
वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए ।
यस जितसँगै तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ ।