धनगढी । बाल बाटिकाले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा जित निकालेको छ ।
बुधबार भएको पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो ।
न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन । उनले ३७ बलमा ८ चौका प्रहार गर्दै अर्धशतकी इनिङ्स खेलेका हुन् ।
न्यू एकेडेमीका लागि समिर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।
बलिङतर्फ बाल बाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले समान दुई–दुई विकेट लिए । कमल ओलीले एक विकेट लिए ।
न्यू एकेडेमीले दिएको १ सय १२ रनमो लक्ष्य पछ्याएको बाल बाटिकाको १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
बाल बाटिकाको जितमा ओपनर ब्याटिसम्यान विराट सिंह भण्डारीले ३० रनको योगदान दिए । उनले ४६ बलमा ४ चौकाको मद्दतमा ३० जोडेका हुन् ।
त्यस्तै अभिषेक साउदले ४२ बलमा ५ चौका सहित ३३ रन जोडे । कमल ओलिले अविजित ३९ जोडे । उनले मत्र १७ बलमा आक्रमक ब्याटिङ प्रस्तुत गर्दै एक चौका र ५ छक्काको मद्दतमा अविजित ३९ रन जोडेका हुन् ।
बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक एक विकेट लिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।