धनगढी । कञ्चनपुरको शारदा सरस्वतीले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा धनगढी नमुनालाई ५ विकेटले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ ओभर ४ बलमा अलआउट हुँदै ९७ रन बनायो ।
उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए । शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए ।
९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए । धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २/२ विकेट लिए ।
खेलमा म्यान अफ द म्याच कैलाश सिंह साउँद भए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।