धनगढी । शारदा स्कुलले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा त्रिनगर सेकेण्डरी स्कुललाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
उसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । अविशेक पलले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए ।
त्रिनगरका खडक नगरकोटीले ४ विकेट लिए । शिशिर थापा मगरले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो ।
उसका लागि बसन्त थापा मगरले ३० रन जोड्दा शिशिर थापा मगरले २८ रन बनाए ।
शारदाका अविशेक पलले ५ विकेट लिए । लक्की खडायतले २ विकेट लिए ।
उसका लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए ।
शनिबारबाट सुरु प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।