काठमाडौं । मनाङले भर्खरै अखिल नेपाल फुटबल संघ (एन्फा) को जिल्ला सदस्यको स्थायी मान्यता प्राप्त गर्यो ।
झण्डै १० वर्ष सदस्यताका लागि प्रयास गरेको मनाङलाई एन्फाको पछिल्लो साधारण सभाले स्थायी सदस्यको मान्यता दियो । मनाङसंगै खोटाङ र नवलपुर एन्फाको कान्छो जिल्ला सदस्य बन्ने मौका पाए ।
मनाङ मर्स्याङ्दी घरेलु फुटबलको लोकप्रिय क्लब हो । र, उत्तिकै सफल पनि ।
विगत साढे तीन दशकदेखि मनाङले शीर्ष डिभिजनको फुटबल खेलिरहेको छ । आफुलाई उत्तिकै अब्बल सावित गरेको छ । राजधानी केन्द्रित नेपाली फुटबलमा मनाङको आधार काठमाडौं हो । तर, मनाङको फुटबलमा अब जिल्लामा समेत फैलने मौका पाएको छ ।
हिमालपारीका दुई जिल्ला मध्य एक हो, मनाङ ।
हिउँदको जाडो छल्न धेरै मनाङ्गे बेशी झर्छन् । ब्यापारलाई मुख्य पेशा बनाएका धेरै मनाङ्गेले काठमाडौंलाई आधार बनाए । जाडो छल्न र ब्यापारका लागि आवतजावत गर्न काठमाडौंनै उपयुक्त ठाउँ बन्यो ।
शहर निर्दयी स्वभावको हुन्छ । मनाङ्गेले सुख दुखमा जोडिन समुह बनाए, मनाङ्ग सेवा समिति । त्यही समितिले काठमाडौंमा रहेर सामाजिक सेवाको काम गर्छ । आफ्नो जिल्ला र समुदायको अभिभावकत्व लिन्छ । अनि फुटबल खेलाउँछ । मनाङ्ग मर्स्याङ्दी, त्यही फुटबल क्लबको नाम हो ।
काठमाडौंमा रहेर मनाङले घरेलु फुटबलमा ठुलो नाम बनायो । कीर्तिमानी सफलता प्राप्त गर्यो । तर, एन्फाको सदस्य प्राप्त गर्न मनाङ जिल्ला फुटबल संघले झण्डै १० वर्ष संघर्ष गर्नुपर्यो ।
‘करिब १० वर्ष कोशिश गयौं । मापदण्ड पुरा गर्यौ । जहाँ गएपनि सम्बन्ध बिना कामै नहुने । टिम बनाएर काम गर्यौ । र एन्फाको स्थायी सदस्यता पाएका छौं,’ एन्फा कार्यसमिति सदस्य विजय घलेले खेलपाटीसँग भने ।
‘एन्फा नेतृत्वले वेवास्ता गर्दा जिल्लाका मान्छेले ईच्छा देखाउन छाडेका थिए । तर एन्फाले नयाँ सदस्य थप्ने भन्यो । हामीले पनि कोशिश गर्यौ, सफल भर्यौ,’ मनाङ क्लबबाट एन्फामा प्रतिनिधित्व गर्ने घले थप्छन् ।
हिमालपारीको जिल्ला हो, मनाङ । मौसम चिसो, हावाहुरी चल्ने । जति माथि पुग्यो, उत्तिनै फाँट देखिने । त्यही फाँटमा मैदान बनाएर फुटबल खेलाउने मनाङको योजना छ ।
स्थायी सदस्यतासँगै एन्फाका कार्यक्रम अब मनाङ छिर्नेछन् । ग्रासरुट, प्रशिक्षक र रेफ्री कोर्सका कार्यक्रम मनाङमा विस्तार हुनेछन् । जसलाई लिएर मनाङ जिल्ला उत्साहीत छ ।
‘अब एन्फासँग सम्बन्धित कार्यक्रम पाईन्छ । ग्रासरुट, कोच, रेफ्रीको कार्यक्रम मनाङमा पनि हुन्छ । यसले फुटबलको माहोल हुन्छ । एन्फाको कार्यक्रम गर्न पायौ भने जिल्लामा पनि फुटबलको विकास हुन्छ ।’ घले भन्छन् ।
भौगोलिक विकटता र प्राकृतिक प्रतिकुलताकाबीच मनाङले फुटबललाई माया गरेको घले बताउँछन् । जिल्लाको स्थायी सदस्यका लागि निकै खटेका उनी मनाङले फुटबललाई धेरै माया गरेको उल्लेख गर्छन् ।
‘जिल्लामा प्रशस्त खेलाडी छन् । फुटबललाई माया गर्ने संस्कृति छ,’ उनी भन्छन्, ‘काठमाडौं आएर पनि क्लब गठन गर्यौ । फुटबलप्रति माया र इच्छा भएरै हो । क्लबले फुटबलमा अर्बौ रुपैयाँ खर्च गरिसकेको छ । मनाङले फुटबलललाई धेरै माया गरेको छ ।’
काठमाडौंमा बसेर फुटबलमा सफलता र लोकप्रियता कमाएको मनाङसामु एउटा चुनौती छ । जिल्लामा लटरपटर फुटबल खेलाउने वा फरक पहिचान बनाउने ? सदस्यता प्राप्तीसंगै केन्द्रका कार्यक्रम अनिवार्य र सफलतापुर्वक सम्पन्न गर्नुपर्ने दबाब पनि जिल्ला संघ समक्ष छ ।
‘फुटबलको काम त गर्नै पर्ने हुन्छ । केन्द्रले पनि कामको अनुगमन गर्छ । अब त बाध्यता पनि छ । जति काम गरिन्छ, त्यति सिक्दै जाने हो,’ घले भन्छन्, ‘यसो गर्दा जिल्लामा फुटबलको माहोल फर्कन्छ । ग्रासरुटको कार्यक्रमले बालबालिकासँग फुटबल जोडिन्छ । खेलाडीहरुले जति खेल्यो, उतिनै सम्भावना देखिदै जाने हो ।’