काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक भएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरेको हो ।
फाउण्डेशनले सार्वजनिक गरेको खर्च विवरण अनुसार रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ ।
फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ ।
तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ ।
फाउन्डेशको अनुसार परियोजना निर्माणको लागि ९.१० प्रतिशत पैसा संकलन भएको छ ।
जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ ।
रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशले जानकारी दिएको छ ।
आर्थिक अभाव र ऋणकै कारण रंगशाला निर्माण कार्य अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको फाउन्डेशले जनाएको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ ।
२०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।
रंगशाला निमार्ण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको छ । भने प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको जानकारी दिए ।
'अनियमितता नहुने गरि पारदर्शीताका साथ काम गरेका छौँ । लकडाउन अघि खेल मैदानको काम ८५ प्रतिशत सकिएको छ । दशैँ अघि खेल खेल्न मिल्ने गरि तयार हुन्छ,' कट्टेलले भने, 'बैशाखसम्म ३ हजारको प्यारापिट बन्छ ।'
कट्टेलले रंगशाला निर्माण खेलकुदसँग सम्बन्धित सबैको दायित्व रहेको समेत बताए ।
'हामी निर्माणको मध्यस्तकर्ता हौँ । यो अवधारणा बनाउन खेलकुदसँग सम्बन्धित सबैको दायित्व रहन्छ,' उनले भने ।
यो पनि ....
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने