जितु साउँद ।
काठमाडौं । माघ २४ गते युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसनले आफ्नो दोस्रो संस्करणको यूयूएनटीएफ स्पोर्ट्स अवार्ड कार्यक्रम नुवाकोटमा आयोजना गर्यो ।
अवार्डमा विषेश गरी १३ औं सागका पदक विजेता खेलाडी र प्रशिक्षकहलाई सम्मान गर्ने कार्यक्रम रहेको थियो ।
अवार्ड कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का केही बोर्ड सदस्य समेत निम्तालु थिए ।
तर, आयोजकले कार्यक्रममा उपस्थित सबै बोर्ड सदस्यलाई चिन्न सकेनन् ।
खेलकुदका विभिन्न क्षेत्रबाट बोर्ड सदस्यमा नियुक्त भएका कारण पनि आयोजकले चिन्न सकेनन् ।
अझ बिना निमन्त्रणा कार्यक्रममा बोर्ड सदस्य पुगेको आयोजकले थाहै पाएनन् ।
आयोजकले देखेका, सुनेका र कार्यक्रममा उपस्थित भएका बोर्ड सदस्यहलाई आसन ग्रहण त गराए । तर, दुई जना बोर्ड सदस्य आसनग्रहणमा छुट्न पुगे ।
केही समयपछि आयोजकले दुई बोर्ड सदस्यको आसन ग्रहण छुटेको थाहा पाए । आसन ग्रहण पनि गराए । तर उनीहरु त्यसको केही समयमै कार्यक्रम स्थलबाट बाहिरिए ।
आसन ग्रहण ढिलो गराएका कारण उनीहरु कार्यक्रम स्थलबाट बाहिरिएका थिएनन्, बोर्ड सदस्यसँगै ड्यासमा बस्ने अवसर नपाएको उनीहरु गुनासो थियो । बोर्ड सदस्यनै कार्यक्रम छोडेर हिडेपछि आयोजकले खल्लो महशुश गरे ।
आयोजक समितिका एक सदस्य भन्दै थिए, ‘हामीलाई यो बोर्ड सदस्य हो भनेर कसरी थाहा हुन्छ ? आउनुभन्दा पहिला कम्तिमा खबर त गर्नु पर्छ । निमन्त्रणा विना आउछन्, फेरी आफै जान्छन् । हामीले थाहा पाएसम्म सबै जनालाई आसन ग्रहण गराएकै छौ ।’
आसन–ग्रहण र बोर्ड सदस्य
खेलकुद ऐनले राखेपका बोर्ड सदस्यको जिम्मेवारी तोकेको छैन । बोर्ड बैठकमा उपस्थित हुने र अध्यक्षले दिएको जिम्मेवारी निभाउने बाहेक सदस्यको परिभाषित जिम्मेवारी छैन ।
बोर्ड सदस्यको हैसियतले खेलकुदको कार्यक्रममा उपस्थित हुनु, कार्यक्रमको प्रबद्र्धन गर्नु, खेलाडी र खेलकर्मीको समस्या बुझ्नु र समाधानका लागि पहल गर्नु बोर्ड सदस्यको जिम्मेवारी हो । तर नेपाली खेलकुदमा बोर्ड सदस्यको जिम्मेवारी आशन ग्रहणकै तछाड मछाडमा बित्ने गरेको छ । घरेलु खेलकुदका तमाम समस्या एकातिर छ, बोर्ड सदस्यहरुलाई अथितिको आसन ग्रहण ग्रहण गर्न भ्याइनभ्याई जस्तो देखिन्छ ।
राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ ठोस जिम्मेवारी नपाएका कारण बोर्ड सदस्य फुर्सदिला भएको तर्क गर्छन् । उनले आफुहरु बेरोजगार भएकाले खेलकुदका कार्यक्रममा जाने आउनेमात्र भइरहेको बताउँछन् ।
‘अहिलेसम्म हामीलाई कुनै पनि जिम्मेवारी बाँडफाँड गरेको छैन । सबै जना बोर्ड सदस्य फुर्सदिला छन् ।’ श्रेष्ठले भने, ‘अहिले हाम्रो मुख्य काम भनेको खेलकुदका कार्यक्रममा जाने, माला लगाउने, खादा ओढ्ने, फर्किने भइरहेको छ । हामी कार्यक्रम हेर्ने र डुल्नमै व्यस्त छौ ।’
खेलकुद विज्ञ शुशिल नरसिंह राणा राखेपका बोर्ड सदस्य खेलकुद कार्यक्रममा जानु राम्रो भएको बताउँछन् । तर उनीहरुले आफु उपस्थित भएको कार्यक्रमको रिपोर्ट तयार पार्न आवश्यक रहेको राणा सुझाव दिन्छन् ।
‘बोर्ड सदस्य कुनै पनि खेलकुदका कार्यक्रममा जानु नराम्रो हैन । तर, फर्केर आउँदा बोर्ड सदस्यको रुपमा त्यसको प्रतिक्रिया ल्याउन सक्नु पर्छ ।’ राणाले भने, ‘त्यो कुन स्तरको कार्यक्रम वा प्रतियोगिता हो, त्यसलाई भोली कस्तो किसिमको बढावा दिन सकिन्छ आँकलन गर्नु पर्यो ।’
उनले थपे, ‘तर, ड्यासमा बसेर, रिबन काटेर, फोटो खिचाएरमात्र फर्किदा त्यसको औचित्य भएन । झनै निमन्त्रणै नभएर बोर्ड सदस्य हुँ भनेर कार्यक्रमा उपस्थित हुनुको के अर्थ ?’
बोर्ड सदस्यको जिम्मेवारी
राखेपका बोर्ड सदस्यको परिभाषित जिम्मेवारी छैन । ऐन निमार्णको क्रममा संलग्न एक अधिकारीका अनुसार नयाँ खेलकुद ऐनले बोर्ड सदस्यलाई खेलकुदको नीति निर्माणमा केन्द्रित गर्न खोजेको हो । तर राखेपका धेरै बोर्ड सदस्य पुरानो ‘ह्याङ्ग ओभर’बाट माथि उठ्न सकेका छैनन् ।
मन्त्रालय र राखेपसंग धेरै बोर्ड सदस्य कार्यकारी भुमिकाको माग गरिरहेका हुन्छन् । बोर्ड सदस्यलाई दिने जिम्मेवारी अध्यक्षको हैसियतमा खेलकुदमन्त्रीसंग रहेको छ । तर ऐनले खेलकुदको नीति निर्माण र सुपरिवेक्षणमै बोर्ड सदस्यको जिम्मेवारीलाई केन्द्रित गर्न खोजेको छ ।
घरेलु खेलकुद अहिले भद्रगोल अवस्थामा छ । खेलकुद ऐन कार्यान्वयनको प्रगति शुन्य छ । राखेपको बोर्ड बैठक बस्न सकेको छैन । खेलकुदको वार्षिक क्यालेन्डर बनेको छैन । राखेप सञ्चालनका लागि कार्यकारी समिति गठन हुन सकेको छैन । साधारण सभा गर्न नपाउँदा धेरै खेलकुद संघ तदर्थवादमा चलिरहेका छन् । तर सिंगो खेलकुद अस्तब्यस्त र गतिहिन हुदाँ बोर्ड सदस्य मुखदर्शक छन् । आशनग्रहण, मन्तव्य र योजनाविहिन दौडधुपबाट बोर्ड सदस्य बाहिर निस्कन सकेका छैनन् ।
बोर्ड सदस्य नन्दा बस्याल राखेपको बोर्ड बैठकका विषयमा अहिलेसम्म आफुलाई कुनै जानकारी नभएको बताउँछिन् । पछिल्लो समय खेलकुद प्रतियोगिताले गति लिएको भन्दै खुसी ब्यक्त गरेकी उनले कोरोना भाइरसका कारण बोर्ड बैठक बस्न ढिलो भएको बताइन् ।
‘हामी आएपछि कोरोनाको मारमा पर्यौं । केही सहज वातावरण भएपछि हामीले हाल सातवटै प्रदेशमा खेलकुद अभिमुखीकरण कार्यक्रम गर्यौ ।’ बस्यालले भनिन्, ‘अब आउने दिनमा कसरी खेलकुदलाई अगाडी बढाउने, खेलकुद क्षेत्रलाई कसरी राम्रो गर्ने, नयाँ खेलाडी कसरी उत्पादन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
उनले राजनितिक परिवर्तनसँगै नयाँ मन्त्री आउँदा राखेपको बोर्ड बैठक बस्न नसकेको बताईन् । उनले आफु भन्दामाथि सदस्य सचिव, उपाध्यक्ष र मन्त्री रहेका कारण यसका लागि दबाब दिन नमिल्ने जिकिर गरिन् ।
राखेपको बोर्ड बैठक झण्डै दुई वर्षदेखि बस्न सकेको छैन । बैठक नबस्दा कार्यकारी समिति गठन, खेलकुदको वार्षिक क्यालेन्डर निर्माण, नवौं राष्ट्रिय खेलकुदको टुङ्गो सहित समग्र खेलकुदको समिक्षा हुन सकेको छैन ।
खेलविज्ञ राणाले भने अनिश्चित बनेको राखेपको बोर्ड बैठक बस्न राखेप र मन्त्रालयमा बोर्ड सदस्यले दबाब दिनु पर्ने बताउँछन् ।
‘खेलकुद ऐनमा वर्षमा कम्तिमा दुई पटक राखेपको बोर्ड बैठक बस्नु पर्ने उल्लेख छ । सोही बैठकले खेलकुदको योजना, कार्यक्रम र बजेट पास गर्नेगर्छ । तर, यहाँ बोर्ड सदस्य मौन छन् ।’ राणाले भने, ‘बोर्ड सदस्यको मुख्य कार्य भनेको खेलकुदमा काम गर्ने वातावरण सृजना गर्ने हो । नभए दबाबै दिने हो ।’
‘अनौपचारिक रुपमा बोर्ड बैठक बसेर जल्दो बल्दो र गर्नै पर्ने विषय बस्तुलाई उठाएर हामी यसलाई बोर्डमा लैजादै छौं भनेर सार्वजनिक गर्नु पर्ने हो । त्यसो गर्दा मन्त्रालय पनि दबाबमा पर्छ । तर, बोर्ड सदस्यले आफ्नो भुमिका बिर्सेर मौन बसेका छन् ।’ उनले भने ।