धनगढी । धनगढीमा मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट प्रतियोगिता चैत ३ गतेदेखि आयोजना हुने भएको छ ।
धनगढीलाई खेलकुदको शहरको रुपमा विकास गर्ने अवधारणा अनुसार प्याब्सन धनगढी नगर समितिको आयोजनामा हुने प्रतियोगिता चैत पहिलो सातादेखि हुने भएको हो ।
क्रिकेट विकासलाई टेवा पुग्ने गरि धनगढी उप–महानगरपालिकाको संरक्षण तथा प्रबद्र्धनमा प्याब्सन धनगढी नगर समितिले आयोजना गर्ने प्रतियोगिता यसअघि फागुन २८ गते आयोजना गर्ने भनिएको थियो ।
तर, मैदान खाली नहुने भएकोले केही दिनपछि सारिएको हो ।
प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरी ३० छात्र र छात्रा टोलीको सहभागीता रहने भएको छ । जसमा छात्र तर्फका १९ टीम र छात्रा तर्फका ११ टिमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए ।
टी-ट्वान्टी फर्म्याटमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिता संयोजक सिंहका अनुसार प्रतियोगिताको छात्र तथा छात्रा तर्फको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेतालाई ५१ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता आयोजना गर्नका लागि झण्डै २१ लाख खर्च हुने अनुमान गरिएकोले त्यसमा झण्डै ६ लाख धनगढी उपमहानगरपालिकाको तर्फबाट सहयोग हुनेछ ।
प्रतियोगिताका लागि प्रायोजकहरुको खोजी भईरहेको आयोजकले जनाएको छ । त्यसै क्रममा छात्र तथा छात्रा तर्फको विजेता र उपविजेताका साथै म्यान अफ द म्याच तथा प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुको विधा प्रायोजकहरुसँग सम्झौता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
छात्र तर्फको प्रथम पुस्कार ओसन पब्लिकेसन र छात्रा तर्फको प्रथम पुरस्कारलाई शम्भु पुस्तक भण्डारले पायोजन गरेको छ । त्यसैगरी छात्र तर्फको दोस्रो पुरस्कार बेदान्त पब्लिकेसन र छात्रा तर्फको दोस्रो पुरस्कार ईमेज होटेलले प्रायोजन गरेको छ । छात्रा छात्रा तर्फका खेलका म्यान अफ द म्याच तथा प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी पुरस्कारलाई ग्रीन पब्लिकेसनले प्रायोजन गरेको प्याब्सन धनगढी नगर समितिका अध्यक्ष पदम साउँदले जानकारी दिए ।
प्रतियोगिताले सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने आशा गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले बताए । पत्रकार सम्मेलनमा मेयर ओडसँगै उपमेयर सुशिला मिश्र भट्ट, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य विक्रम विष्ट लगायतको सहभागीता रहेको थियो ।