धनगढी । विद्या भुषण स्कुलले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको पहिलो खेलमा लिटल फ्लावर स्कुललाई ७ विकेटले पराजित गर्दै विद्या भुषणले सुखद सुरुवात गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।
लिटल फ्लावरका लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए ।
विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले २÷२ तथा सञ्जय केसीले १ विकेट लिए ।
लिटल फ्लावरले दिएको १ सय ५३ रनको लक्ष्य विद्या भूषणले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरे । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहदै २६ रन बनाए ।
लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए ।
खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।
प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको पहिलो खेलमा लिटल फ्लावर र विद्या भुषण भिड्ने छन् ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।
म्यान अफ दि म्याचले १५ सय पाउने छन् ।