बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'ए' डिभिजनमा बुद्ध क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा बुधबार बुटवल राइनोजलाई ८ विकेटले पराजित गर्दै बुद्धले सुखद सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरेको बुटवलले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन बनायो ।
उसका लागि अर्बिन सारुले १८ रन बनाए । आशिष लोहनी र ईश्वर खनालले १४/१४ रन बनाए ।
बुद्धका रुपेश कुर्मीले ४ विकेट लिए । विपिन खत्री र अमित अग्रहरीले २/२ विकेट लिए ।
जवाफमा बुद्धले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
बुद्धको जितमा रिजन प्रजुले ३६ रन बनाए । निखिल यादव ३२ रनमा अविजित रहे ।
बुटवलका अब्दुल नसिम र सन्दीप बस्यालले १/१ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।