काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रेस विज्ञप्ति निकाल्दै मेयर कप क्रिकेट फागुन २२ देखि २९ गतेसम्म हुने जनाएको छ ।
टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छन् ।
प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ ।
एक टिम भने प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटिएको काठमाडौं महानगरपालिका टिम रहनेछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिता आयोजनाको लागि क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।